भारतबाट आएको ग्यास आखिर जान्छ कहाँ?

२०७२- भारत बिहारको जोगबनी नाका नजिकै भए पनि विराटनगरका उपभोक्ताले वितरण गरिँदै आएको आधा सिलिन्डर ग्याससमेत अझै सहज ढंगले पाउन सकिरहेका छैनन् । वरिपरिका डिपोमा ग्यास लिएर आएको ट्रक देख्ने बित्तिकै स्थानीय झुम्मिन्छन् ।
झार्न नपाउँदै गाडीबाटै वितरण हुन्छ । यहाँका नगरवासी ग्यास खोज्दै भौंतारिहेका भेटिन्छन् । ‘तीन जनालाई आधी सिलिन्डर ग्यास १५ दिन जान्छ, त्यसपछि फेरि खोजीमा लागिहाल्नुपर्छ,’ कलेज रोडकी सरितादेवी रायले भनिन् । ग्यास सक्न नपाउँदै उनी बिक्रेतालाई ‘अब कहिले आउँछ ?’ भन्दै ताकेता गरिरहेकी हुन्छिन् । डिपो र बिक्रेताकामा चिन्तित उपभोक्ताको फोन आइरहेको हुन्छ ।
बिक्रेताहरूले बन्दी एवं नाकाबन्दीको राम्रो वहाना बनाएको स्थानीयवासीको गुनासो छ । ‘पहिला पनि चाडपर्वको बेलामा अभाव गराएकै हुन्,’ सरोचियाकी मिता सिंहले भनिन् । हुनेखाने वर्ग, ठूला होटेल र पहुँचवालाको घरमा कहिल्यै यसको अभाव नहुने उनको दु:खेसो छ । ‘लाममा बस्नेहरू मजस्तै कतै र कुनै भनसुन नलाग्ने सिधासाधा जनता हुन्छन्,’ सिंहले भनिन् ।
दिउँसो झार्दा मात्र पाउने गरेको र राति ल्याउँदा आफूहरूको हातमा एउटै सिलिन्डर नपर्ने गरेको स्थानीयले बताए । ‘आफै बुझ्नुस् न कहाँ जान्छ,’ भृकुटी मार्गकी गृहिणी शिला जयसवालले भनिन् । उल्लेख्य परिमाणमा ग्यास भित्रिए पनि नपाउँदा स्थानीय चकित छन् ।
देवकोटा चोकमा ग्यास खोज्दै आएकी हाटखोलाकी नीरा मगर सोध्छिन्, ‘आखिर आएको ग्यास कहाँ हराउँछ ?’
स्थानीय बिक्रेताहरूले नागरिकको गुनासोको पूर्वतयारी जवाफ दिन्छन् । ‘आएपछि दिएकै हो, फेरि कहिले आउँछ ? थाहा हुन्न,’ विराटगरको एक ग्यास बिक्रेताले भने, ‘एक दिनअघि मात्र तपाईको भागको ग्यास झर्दै छ भनेर खबर आउँछ ।’
मनग्यै ग्यास भित्रिए पनि काठमाडौं पठाइनु, बढी मोलमा अन्यत्र बेचिनु र नपाउने भएमा एकै उपभोक्ताले धेरै सिलिन्डर भण्डारण गर्नुलाई यसको कारण मानिन्छ । जानकार स्रोतका अनुसार विराटनगरमा ग्यास अभाव हुनै नपर्ने हो । मधेस आन्दोलन नरम भएपछि पर्याप्त परिमाणमा ग्यास भित्रिएको हुनाले यहाँ आधी नभएर भरि सिलिन्डर वितरण गर्दा पनि पुग्ने ग्याससम्बन्धी कारोबारमा संलग्न एक जानकारले बताए । स्रोतले भन्यो, ‘आउने लटदेखि यहाँ उपभोक्तलाई भरी सिलिन्डर ग्यास दिइने आशा राखेका छौं ।’
स्रोतका अनुसार कालोबजारीका लागि लुकाउने प्रवृत्ति नै कृत्रिम अभावको मुख्य कारण हो ।
‘प्रतिसिलिन्डर सय/दुई सय रुपैयाँ बढीमा बेच्दा पनि धेरै नै नाफा हुन्छ,’ स्रोतले भन्यो । अहिले विराटनगरबाट राजधानी जाने कतिपय बसको डिकीमा ग्यास सिलिन्डर एवं ४०/५० लिटर इन्धनको ग्यालेन भरिएको हुन्छ ।
गाडीका कर्मचारीले प्रतिसिलिन्डर ग्यास र तेल ग्यालेनको भाडा न्यूनतम ५ सयदेखि हजार रुपैयाँ लिने गर्छन् । भाडा कटाएर पनि प्रतिसिलिन्डर ग्यास र इन्धनमा ५ सयदेखि १ हजार नाफा आउने हुनाले ठूलो संख्यामा कालोबजारीहरू यसमा संलग्न भएको स्रोतले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.