फेसबुकमा ‘लभ’ गर्दा पाँच लाख स्वाहा !

काठमाडौं । युवतीका हातमा हत्कडी थियो । अनुहारमा खासै अपसोच र सन्ताप थिएन । कलाकारदेखि डाक्टरसम्म फसाएर ठगी गरेको आरोपमा पक्राउ परेकी भगवती केसीले आफ्नो ‘ठगी-यात्रा’ देखि पक्राऊ पर्दासम्मको कहानी निर्धक्क सुनाइन् ।

होटलवालाकै छोरालाई भगाइन्
पुस ७ गते ठमेल स्थित एक होटलमा ‘डा. सुहाना केसी’ले कोठा लिइन् । डाक्टर सुहानाले आफु डीआइजीकी छोरी भन्दै परिचय दिएपछि होटलका सञ्चालकले पनि सहजै कोठा दिए ।
त्यहीवीचमा डा. सुहानाले होटलका सञ्चालकका छोरालाई आफ्नो मायाजालमा पारिन् । १९ दिनपछि अर्थात डिसेम्बर २२ मा होटलबाट डा. सुहाना र होटलवालाका छोरा गायब भए । छोरा र युवती दुबै हराएको थाहा पाएपछि होटल सञ्चालक अपराध महाशाखामा पुगे । महाशाखाले तत्काल अनुसन्धान सुरु गर्दा डा. सुहाना र युवक भारत पुगिसकेका थिए ।
मोटरसाइकलमा भैरहवा हुँदै भारत पुगेका दुबैजना जब फेला परे, तब खुल्यो यिनी न डाक्टर सुहाना थिइन्, न त कुनै डीआइजीकी छोरी नै । उनी थिइन् गुल्मीबाट बुटवल झरेकी ‘नटवरलाल’ अर्थात भगवती केसी । जसले धेरैलाई एउटै शैलीमा ठगिसकेकी थिइन् ।
आफैं ठगिएपछि शुरु भयो ठग्ने यात्रा
केही वर्षअगाडि ‘शक्ति’ नाम गरेका एक पुरुषसँग भगवती केसीको प्रेम विवाह भएको थियो । ती पुरुषले आफूलाई कान्छी श्रीमती बनाएर लगेको खुलेपछि भगवती उनीसँग झगडा गरेर निस्किइन् ।
त्यसपछि पुरुषलाई फसाउने र ‘मूर्गा’ बनाउने धन्दा उनले सुरु गरिन् । पोखरास्थित फेवा अस्पतालमा तिनले चिनेको कोही साथी थियो । त्यही व्यक्तिमार्फत अन्य डाक्टरहरुसँग उनको चिनजान भयो । र, तिनै डाक्टरमार्फत चिकित्सासम्बन्धी सामान्य कुरा सिकेपछि उनले बिरामीको चेकजाँचसमेत गर्न थालिन् । र, आफ्नो परिचय डा. सुहाना बनाइन् । त्यतिबेलासम्म थुपै्र डाक्टरसमेत सुहानाको मायाजालमा फसिसकेका थिए ।
जब सुहाना वास्तविक डाक्टर नभएको र अस्पतालका डाक्टरसमेत उनीबाट ठगिएको थाहा भयो, त्यसपछि उनी भूमिगत भइन् । उनले एकजना डाक्टरको एप्रोनसमेत चोरी गरिन् । जुन उनलाई डाक्टरजस्तो देखिनका लागि अपरिहार्य थियो ।
बाँकी नतिरेको उजुरी
अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालका अनुसार अहिलेसम्म सुहाना भनिने भगवती केसीबाट ठगिएका ८ जना पीडितले उजुरी गरेका छन् । नयाँ बसपार्क क्षेत्रका होटलमा बस्ने गरेको र पैसा नतिरेको सूचना समेत प्रहरीकोमा आएको छ ।
कतिपयलाई सामान खरिद गर्न लगाउने, कतिपयसँग नगदै सापट लिने गरेर ठगी गर्ने तिनको शैली भएको एसएसपी खनाल बताउँछन् । महाशाखाका डीएसपी रमेश थापा भन्छन्- कलाकारलाई आफु पनि कलाकार भन्ने र डाक्टरलाई डाक्टरै भन्ने सुहानाको शैलीमा डाक्टर तथा कलाकारहरु नै फसेका छन् गजबको कुरा छ ।
ठगी धन्दामा बढ्दो महिला सहभागिता !
ठगी धन्दामा संलग्न रहनेमा भगवती केसी एक्ली महिलाचाँहि होइनन् । पछिल्ला दिनहरुमा ठगीलगायतका आपराधिक कार्यमा महिलाको सहभागिता बढ्न थालेको प्रहरी अनुसन्धानले देखाएको छ । युवती भनेपछि आकर्षित हुने र फेसबुकबाट साथी बनाउन खोज्ने ‘स्त्री प्रेमी’ पुरुषहरु बढी ठगिने गरेको पाइएको छ ।

गत साउन १ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा एउटा उजुरी आयो । सोनामबहादुर तामाङले आफु युवतीबाट ठगिएको भन्दै उजुरी गरे ।
रोजगारीका लागि साउदी अरब पुगेका सोनामको फेसबुकमार्फत सुनसरीकी कञ्चन सुब्बा नाम गरेकी युवतीसँग उनको चिनजान भयो । चिनजान विस्तारै ‘माया’ मा बदलियो । सोनामले ‘भर्चुअल’ प्रेमिका कञ्चनका लागि खर्चस्वरुप अरबबाटै पैसासमेत पठाउन थाले । करिब दुई वर्षको वीचमा उनले ५ लाख १२ हजार रुपैयाँ पठाए ।
सोनाम अरबबाट गत असारमा नेपाल आए । उनी कञ्चनसँग बिहे गर्ने सपना बोकेर आएका थिए । तर, नेपाल आउँदा उनले न कञ्चनलाई भेटे, न त आफुले पठाएको पैसा नै । त्यसपछि सोनामले काठमाडौं प्रहरी परिसरमा उजुरी गरे । प्रहरीले कञ्चन र उनका सहयोगी सुनसरीकै आशिक राईलाई पक्राउ गर्‍यो ।
त्यस्तै केही दिनअघि सोह्रखुट्टे प्रहरी वृत्तले ठमेलमा शारीरिक सम्वन्धको प्रलोभन देखाएर ठगी गर्ने एक युवतीलाई पक्राउ गर्‍यो । काभ्रेकी २४ वर्षीया गीता भन्ने वर्षीया तिम्सिनाले ठमेल पुगेका एक पुरुषलाई फकाई-फुल्याई होटलमा लगिन् र निदाएपछि पाँचतोला सुन, मोबाइल र २८ हजार नगद लिएर फरार भइन् ।
एक वर्षमा २८ जना ठग समातिए
अमेरिका तथा युरोप पठाइदिनेदेखि प्रहरीमा जागिर लगाइदिनेसम्मका बाहाना बनाएर ठगी गरेको भन्दै यो आर्थिक वर्षमा मात्र अपराध महाशाखाबाट २८ जना पक्राउ परेका छन् । यसरी समातिनेमा केही हजारदेखि लाखौं ठगी गर्नेहरुसम्म छन ।
पछिल्लो समय ठगी धन्दामा महिलाको सक्रियता बढ्न थालेको प्रहरीको भनाइ छ । अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार जघन्य अपराधमा प्रायः महिलाको प्रयोग हुने गर्छ ।
तर, ठगी धन्दाको योजना भने महिला आफैंले बनाउने गरेको कमै भेटिएका छन् । अपराध गरेर पैसा कमाउने लोभमा परेर महिलाहरु ठगीधन्दामा लाग्ने गरेको एसएसपी खनालको विश्लेषण छ ।
महिलाको रुपले फसाउँछ
अपराध महाशाखाका डीएसपी रमेश थापा भन्छन्-महिला भन्नेबित्तिकै चाँडै विश्वास गर्ने पुरुषका कारण पनि महिलाहरु बढी अपराधमा सक्रिय हुने थालेका हुन् । अनुहार राम्रा भएका युवती देखेपछि प्रलोभनमा परेर त्यस्तो पुरुषहरु फस्ने गरेका छन् ।
कतिपय पुरुषहरु महिलासँग शारीरिक सम्बन्ध राख्न पाउने लोभमा पनि फस्ने गरेको डीएसपी थापा बताउँछन् ।
काठमाडौंमा माया प्रेमको बहानामा पुरुषहरुलाई फसाउने र बलात्कार तथा जबरजस्तीको आरोपमा ब्ल्याकमेलिङमार्फत् सम्पति कमाउने धन्दामा युवतीहरुको गिरोह नै सक्रिय भएको प्रहरीको भनाइ छ ।
तर, अधिकांश घटनाहरु सामाजिक लाजका कारण प्रहरीसम्म आइपुग्दैनन् ।

Source:onlinekhabar

,

0 comments

Write Down Your Responses

Powered by Blogger.