राष्ट्रपतिलाई २१ किलोको मालाले स्वागत

वीरेन्द्रनगरमा शुक्रबारबाट सुरु भएको नेपाल व्यापार तथा पर्यटन मेलाको उद्घाटन गर्न आउनुभएका राष्ट्रपति डा. रामवरण यादवलाई २१ किलोको मालाले स्वागत गरिएको छ ।
मेला मूल आयोजक समितिका संयोजक तथा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पद्मबहादुर शाही र वाणिज्य संघका पूर्व अध्यक्षले संयुक्तहरुपमा राष्ट्रपतिलाई २१ किलोको मालाले स्वागत गर्नुभएको हो । राष्ट्रपतिका लागि बाँकेको नेपालगञ्जबाट माला मगाइएको थियो ।
राष्ट्रपति र अन्य अतिथिहरुलाई स्वागत गर्न तथा मञ्च सजाउन नेपालगञ्जबाट करिब एक लाख बराबरको ४५ किलो हजारी माला भित्र्याइएको मूल आयोजक समितिले जनाएको छ ।
मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले सबैसँग समन्वय गरेर संविधान निर्माण गर्नुपर्ने बताउनुभएको छ । ‘दुईवटा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले पनि नेपाली नागरिकले शान्ति चाहेको स्पष्ट हुन्छ,’ उहाँले भन्नुभयो-’अब सबै मिलेर संविधान निर्माण गर्नुपर्छ, बाहिरका शक्तिलाई पनि संविधानसभामा ल्याउनुपर्छ ।’ अस्थिर राजनीतिले राष्ट्रको विकास हुन नसकेको भन्दै राष्ट्रपति यादवले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सुर्खेती जनताका तर्फबाट मेलाका संयोजक तथा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष शाहीले सुर्खेतमा रहेको काँक्रेविहारको पुनःनिर्माणको माग गर्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.