सचिव बास्कोटाले बढारे कालीमाटी तरकारी बजार

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाको अगुवाइमा शनिबार कालिमाटी फलफूल तथा तरकारी वजारमा सर-सफाइ गरिएको छ ।
सरसफाइ कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी विकास समितिका पदाधिकारी र कर्मचारीहरु, काठमाडौं महानगरपालिका, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, ट्राफिक प्रहरी र कालिमाटी फलफूल तथा तरकारी वजारका व्यापारीहरुको उपस्थिति थियो ।
सर-सफाइ कार्यक्रमको समापन गर्दै सचिव वास्कोटाले ४५ रोपनीमा फैलिएको यस तरकारी बजारमा बहुतले भवन निर्माण गरी ग्राउण्ड ˆलोरमा पार्किङ्ग, भूई तल्लामा माछा र मासु, पहिलो तल्लामा हरियो तरकारी, दोस्रो तल्लामा फलफूल, तेस्रो तल्लामा रेष्टुराँ खोल्नुपर्ने बताउनुभयो । साथै उहाँले रसायनिक विषादिको सट्टा जैविक विषादि प्रयोग गरिएको र आईपिएम पद्दतिद्धारा उत्पादित स्वस्थ तरकारी विक्री गर्ने र तरकारी तथा फलफूलका क्षेत्रमा नमूना वजारको रुपमा स्थापित हुने गरी काम गर्न सम्बन्धितलाई निर्देशन दिनुभयो ।
तरकारीको मूल्यसूची टाँस्न आग्रह
सचिव बास्कोटाले सबै पसलेले मूल्यसूची टाँस गर्न, तिनलाई स्टल नम्बर दिन, बिल-बिजक जारी गर्न र गुणस्तरीय ढक तराजू प्रयोग गर्न आग्रह गर्नुभयो । सचिव बास्कोटाले हरियो तरकारीको महत्व झल्किने गरी मेला आयोजना गर्न, कालिमाटीको ब्राण्डमा प्याकेजिङ्ग र ब्याण्डिङ्ग गर्न पनि आग्रह गर्नु भयो । साथै उहाँले एउटा गुरुयोजना नै तर्जुमा गरी उपभोक्ताको हितमा काम गर्न सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा समितिका अध्यक्ष मोहन वहादुर चापागाई र अन्य वक्ताले पनि आ-आˆनो विचार व्यक्त गरेका गर्नुभएको थियो ।
वि.सं. ०४३ सालदेखि सञ्चालनमा आएको कालीमाटी तरकारी बजारमा विभिन्न दाताहरुको सहयोगमा आईस उत्पादन गर्ने मेशिन जडानलगायतका पूर्वाधारहरु तयार गरिएका छन् । हाल यहाँ ३ सय ८१ वटा तरकारी पसल, २६ वटा माछा पसल र १८ वटा फलफूलका पसल रहेका छन् । दैनिक २ करोड बराबरको बिक्री हुने कालीमाटी तरकारी बजारमा औषतमा ६ सय ४४ मेटि्रक टन तरकारी बिक्री दैनिक हुने गरेको छ ।
कालीमाटीमा बिक्री गरिने तरकारीजन्य वस्तुमध्ये तरकारी ८३ दशमलव ३१ प्रतिशत, फलफूल ११ दशमलव ६३ प्रतिशत, मसला ३ दशमलव ६३ प्रतिशत, माछा १ दशमलव १३ प्रतिशत र अन्यको हिस्सा शुन्य दशमलव २९ रहेको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतबाट २४.७९ प्रतिशत सामान आउँछ । त्यसैगरी चीनबाट पनि कालीमाटी तरकारी बजारमा १.६९ प्रतिशत सामान आउने गरेको छ ।
नेपाली बजारमध्ये धादिङ्गबाट १७.६८ प्रतिशत, काभ्रेबाट १२.७, मकवानपुरवाट ८.३५ प्रतिशत, काठमाडौंवाट ५.३६ प्रतिशत, चितवनवाट ५.१९ प्रतिशत, सर्लाहीबाट ४.७८ प्रतिशत र झापाबाट ३.२४ प्रतिशत फलफूल तथा तरकारीजन्य वस्तु कालीमाटीमा आउने गरेको छ । बारा, भक्तपुर, दोलखा, गोरखा, झापा, ललितपुर, लमजुङ्ग, मोरङ्ग, नुवाकोट, पर्सा, रौतहट, सुनसरी र तनहुँबाट समेत आपूर्ति हुने गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.