पदम कुँवरकी आमा हराइन

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भृकुटीमण्डपमा झापड हान्ने बागलुङका पदम कुँवरकी ५५ वर्षीया आमा हरिकुमारी राजधानीको बसुन्धराबाट हराएकी छन् । सशस्त्र द्वन्द्वका बेला सुरक्षाफौजले घर जलाइदिएपछि मानसिक सन्तुलन गुमाएकी हरिकुमारीको पाटनस्थित मानसिक अस्पतालमा उपचार भइरहेको थियो । हाल धापासी-१ स्थित बसुन्धरामा छोराको डेरामा बस्दै आएकी उनलाई छोरा पदम र अनुपले १० दिनअघि मात्र राजधानी ल्याएका थिए । सशस्त्र द्वन्द्वका बेला माओवादीको समर्थन जनाएको आरोपमा पति प्रेमबहादुरलाई सुरक्षाफौजले कुटपिट गरेको थियो । छोराछोरी पनि भूमिगत भएका कारण ०५९ मंसिरमा घर जलाइदिएपछि उनको मानसिक अवस्था बिग्रेको थियो । बागलुङको दुर्गम गाउँ राजकुतमा बस्दै आएकी उनी त्यसपछिका दिन चिकित्सकको निगरानीमा थिइन् । परिवारजनका अनुसार गत वर्ष एमाओवादीले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष दाहाललाई झापड हानेपछि कार्यकर्ताबाट रगताम्य हुनेगरी छोरा पदम कुटिएको खबरले उनको बिरामी बल्झिएको थियो । वितृष्णा र आवेगमा झापड हानेको बताउने पदमको नाक भाँचिने गरी कुटिएको भिडियो हेरेपछि मानसिक सन्तुलन पुनः गुमाएकी हरिकुमारीलाई त्यसपछि छोरा र छोरीले बेलाबेला पाटन र चाबहिलमा मानसिक रोग विशेषज्ञको निगरानीमा उपचार गराइरहेका थिए । सोही क्रममा यसपटक पनि उनलाई राजधानी ल्याइएको कान्तिपुर दैनिकमा खबर छ । ‘उपचारका लागि पैसाको खोजीमा डेराबाट निस्किएको थिएँ, त्यही मौकामा आमा हराउनुभएछ,’ पदमले भने । दोस्रो संविधानसभा निर्वाचनमा पदम काठमाडौं १० बाट स्वतन्त्र उम्मेदवार उठेका थिए । हरिकुमारीको खोजीका लागि महाराजगन्ज वृत्तले महानगरीय प्रहरी आयुक्त कार्यालयलाई लिखित जानकारी दिंदै राजधानीभित्रका सबै एकाइलाई पत्राचार गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.