हिमाली सभासद्लाई चिनियाँ भोज


२५ मंसिर, काठमाडौं । तराईमा छिमेकी मुलु भारतको राजनीतिक प्रभाव र दबाब रहने चर्चा भइरहेका बेला उत्तरी छिमेकी चीनले पनि नेपालका हिमाली जिल्लामा प्रभाव विस्तार गर्न नयाँ रणनीति अपनाउन थालेको छ । नेपालस्थित चिनियाँ दूतावासले चीनसँग सीमा जोडिएका हिमाली र पहाडी जिल्लाका जनप्रतिनिधिसँग मात्र भेटघाट गरेपछि यस्तो रणनीति खुलासा भएको हो । चिनियाँ राजदूत ऊ छुन्थाईले संविधानसभामा निर्वाचित भएर आएका चीनसँग सीमा जोडिएका १३ र आसपासका जिल्लाका सभासद्सँग आइत्बार रात्रिभोजसहित भेटघाट गरेका थिए । तिब्बत सरकारका उपमहासचिव वाङवेडाईको सम्मानमा भन्दै राजधानीको होटल याक एन्ड यतीमा राति भोजको आयोजना गरिएको थियो । त्यस क्रममा सीमा जोडिएका हिमाली क्षेत्र र चीनबीचका आपसी सम्बन्ध समस्याबारे छलफल भएको भोजमा सहभागी कांग्रेस नेता एवं सोलुखुम्बुबाट निर्वाचित सभासद् बलबहादुर केसीले बताए । उनले भने,’अहिले हिमाली क्षेत्रबाट जितेका सभासद्सँग सम्बन्ध स्थापित गरी दीर्घकालीन सम्बन्ध विस्तार गर्न खोजेका हुन् सक्छन् ।’ उनका अनुसार चीले आफू असल मित्र भएकाले नबिर्सिन सन्देश दिएको थियो । संखुवासभा १ बाट निर्वाचित कांग्रेस सभासद् तारामान गुरुङले भने, ‘त्यो परिचयात्मक कार्यक्रम थियो । हिमाली क्षेत्रका वर्तमान समस्या समाधानलगायतका विषयमा कुराकानी भएका थिए ।’ चिनियाँ भोजमा एमाओवादी प्रवक्ता एवं सिन्धुपाल्चोकका सभासद् अग्नि सापकोटा र एमालेका नेता एवं धादिङका सभासद् राजेन्द्र पाण्डे पनि सहभागी रहेको अन्नपूर्ण पोस्टमा खबर छ । एमाओवादीका नेता बाबुराम भट्टराईलाई उक्त भोजमा बोलाइए पनि उपस्थित भएनन् । भोजको तयारी पर्यटन मन्त्रालयले गरेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.