मोसो दल्ने पनि एमाले, दलिने पनि एमाले

१० पुस, धनकुटा । एमाले अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता नेता केपी ओली गुटका कार्यकर्ताको सम्बन्ध कस्तो छ भन्ने थाहा पाउन धनकुटा जानुपर्ने भएको छ ।
धनकुटा बहुमुखी क्याम्पसका प्रमुख डा. गोपाल भट्टराईलाई कालो मोसो दल्ने र राजीनामा माग्नेदेखि राजीनामा दिनुहुन्न भन्ने समेत एमालेकै नेता कार्यकर्ता रहेका छन् । एमालेबाट मोसो दलिएका क्याम्पस प्रमुखसमेत एमाले नै हुन् । भट्टराई एमालेको खनाल पक्षबाट क्याम्पस प्रमुख बनाइएका हुन् । तर, पछि आफूले भनेको नमानेको भन्दै खनाल पक्षले नै भट्टराईको राजीनामा माग्दै आन्दोलन थालेको छ । ओली पक्षले भने भट्टराईको बचाऊ गरिरहेको छ ।

एमाले, कांग्रेस र एमाओवादीले क्याम्पस प्रमुख प्रा.डा गोपालबहादुर भट्टराईको राजीनामा माग्दै पुस ७ गते पत्रकार सम्मेलन गरी संयुक्त आन्दोलनको घोषणा गरेका हुन् । तर, मंगलबार एमालेकै अर्को पक्षका नेताहरुले पुनः पत्रकार सम्मेलन गरेर आन्दोलनप्रति आपत्ति जनाएका छन् । एमाओवादीको पनि एउटा पक्षमात्रै आन्दोलनमा लागेको छ । एमालेले सहप्राध्यापक बनाइदिने प्रलोभनमा एमाओवादी समर्थित केही प्राध्यापकहरु आन्दोलनमा एमाले र कांग्रेसको पछि लागेको स्रोत बताउँछ ।
तर, क्याम्पसको विषयमा छानविन गर्ने निकाय त्रिवि प्रशासन र परिषद भएकाले राजनीतिक दलले आन्दोलन र हस्तक्षेप गर्न नहुने ओली पक्षको भनाइ छ ।
एमालेका खनालसमर्थित प्राध्यापकहरुले क्याम्पस प्रमुख भट्टराईको राजीनामा मागिरहेका छन् । तर, क्याम्पसको विवादमा राजनीतिक दलहरुले हस्तक्षेप गर्न नहुने अर्काथरि एमालेकै नेताहरुले बताएका छन् । एमालेका आधा दर्जन नेताहरुले मंगलबार पत्रकार सम्मेलन नै गरेर क्याम्पसको विवादमा हस्तक्षेप हुने गरी एमाले अध्यक्ष राजेन्द्र राईको समेत विज्ञप्ति आएकाले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य गोपाल गुरागाई, राष्ट्रिय परिषद सदस्यहरु चन्द्र बस्नेत र सकुन्तला बस्नेत, कोशी अञ्चल समन्वय परिषद सदस्य ईन्द्रमणि पराजुली, कोशी अञ्चल संगठन विभाग सदस्य दीपक बुढाथोकी र संघीय मामिला विभाग सदस्य निरेन तामाङले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।
क्याम्पस प्रमुखको विषयमा धनकुटामा एमालेभित्र खनाल पक्ष र ओली पक्षवीचको विवाद यतिबेला सडकमा आएको छ । ओली पक्षधर राजेन्द्र राई लगायतका नेताहरु प्रा.डा भट्टराईको पक्षमा देखिएका छन् । खनाल पक्षधरहरु राजीनामा गराउने अभियानमा लागेका छन् ।
सहायक क्याम्पस प्रमुखको नियुक्ति लागि गरिएको सिफारिस खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापकहरुको मागअनुसार क्याम्पस सञ्चालक समिति र शिक्षण समितिको निर्णयलाई लत्याएको, अराजक गतिविधि गरेको र क्याम्पसमा गुटको राजनीति गरेको, शैक्षिक केन्द्रलाई धरासायी बनाएको आरोप राजनीतिक दलहरुले लगाएका छन् । ती राजनीतिक दलहरुले लगाएको आरोपहरु गलत भएको भन्दै क्याम्पस प्रमुख प्रा.डा भट्टराईले पनि सोमबार पत्रकार सम्मेलन गरेेर दलका अगाडि नझुक्ने बताउनुभएको थियो ।
धनकुटा बहुमुखी क्याम्पसमा देखिएको समस्यालाई लिएर जिल्लामा क्रियाशील राजनीतिक दल, प्राध्यापक र क्याम्पस प्रमुख एकअर्कालाई आरोप प्रत्यारोप गर्दै पक्ष विपक्षमा उत्रिएपछि प्राज्ञिक जनशक्ति उत्पादन गर्ने पूर्वको चर्चित धनकुटा बहुमुखी क्याम्पसको शैक्षिक वातावरण धमिलिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.