प्रहरीलाई अब थ्रीनटथ्रीको बदला सटगन

१९ पुस, काठमाडौं । सरकारले प्रहरीका लागि अत्याधुनिक सटगन र रिभल्भर किन्ने भएको छ । ठूलो संख्यामा रहेको घातक वर्गको थ्रीनटथ्री राइफललाई विस्थापन गर्न १२ बोरको सटगन किन्न लागिएको हो ।

फोल्ड गर्न मिल्ने-नमिल्ने, रबर गोली प्रहार गर्न सकिनेलगायत विशेषतामा पाइने नन-लेथल (गैर घातक) सटगनलाई प्रभावकारी हतियार मानिन्छ । दंगा नियन्त्रण र सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मीको कार्यशैली र बल प्रयोग विश्वव्यापी मानव अधिकार मापदण्डअनुरुप हुनुपर्ने अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । दंगा नियन्त्रणमा थ्रीनटथ्रीको प्रयोगले सोचेभन्दा विपरीत नतिजा निस्केको विश्लेषण सुरक्षा अधिकारीले गर्दै आएका छन् । युद्धरत अवस्था नभए पनि सार्वजनिक सुरक्षामा घातक थ्रीनटथ्री राइफल प्रयोग गर्दै आएको थोरै राष्ट्रमा नेपाल पनि पर्छ । ‘यही भएर नयाँ हतियार किन्न लागिएको हो,’ गृहका एक अधिकारीले भने ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसीले नयाँ हतियार किन्न बजेट विनियोजनाका लागि सैद्धान्तिक सहमति भइसकेको बताए । संविधानसभा निर्वाचनभन्दा डेढ महिनाअघिजसो अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिएको हो । द्धन्द्धकालपछि प्रहरीलाई ठूलो परिमाणमा हतियार किन्न लागिएको यो पहिलो पटक हो ।
६६ हजार जनशक्ति रहेको नेपाल प्रहरीका लागि विभिन्न चरणमा गरेर करिब २५ हजार थान सटगन, पाँच हजार बढी रिभल्भरका साथै अन्य सुरक्षा सामग्री यही वर्ष खरिद गरिने स्रोतले बतायो । प्रहरीले छिट्टै एक कार्यदल बनाएर हतियार आवश्यकता मूल्यांकन गर्ने र गृहमार्फत बजेट सहमति लागि अर्थमा प्रस्ताव पठाउने छ । यसका लागि २० करोड रुपैयाँ हाराहारीको बजेट आवश्यक पर्ने बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.