‘तेस्रो लिंगी’मा अझै प्रतिवन्धित छ प्रेम
भ्यालेन्टाइन डेका लागि विश्वराज अधिकारीको दिमागमा
केही योजना बनेका छन् । कहाँ जाने ? कसरी रमाउने ? आदि प्रश्नले उनी
रोमाञ्चित भएका छन् । सन् २०१३ का ‘गे ह्याण्डसम’ विश्वराज अहिले स्नातक
तहमा अध्ययनरत छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
यौनिक
अल्पसंख्यकलाई नेपाली समाजले अझै सहजरुपमा स्वीकार्न नसकेको हुँदा उनले
यौवनकालका केही वर्ष जोडी पाउन सकेनन् । ‘गत वर्ष मन मिल्ने साथी भेटें’
उनले खुसी हुँदै सुनाए, ‘यो वर्षको भ्यालेन्टाइन बबाल रमाइलो गरी मनाइन्छ
।’
तर, उनकी भ्यालेन्टाइन पार्टनरले भने
आफ्नो नाम सार्वजनिक नहोस् भन्ने चाहिन् । ‘हामी गत वर्षदेखि सँगै छौं’
उनले यसो भनिरहँदा अर्की यौनिक अल्पसंख्यक पिंकीले थपिन् ‘उहाँहरु छिट्टै
बिहे गर्दै हुनुहुन्छ ।’ विश्वराजले सही थपे र भने ‘हो हामी अहिले लिभिङ
टुगेदरमा छौं । यसलाई औपचारिक मान्यता दिने सपना बुनिरहेका छौं ।’
भ्यालेन्टाइन डे नेपाली मौलिक पर्व नभएको र
सार्वजनिक विदा पनि नहुने भएकाले विश्वराजले दुःखमनाऊ गरे । ‘अफिस सकिएपछि
रेष्टुरेन्ट जानुपर्ला’ उनले भने ‘छुट्टीको दिन पार्क र फिल्म हेर्न पनि
जानेछौं ।’ उनी अहिले यौनिक अल्पसंख्यकहरुको संस्था ब्लु डाइमण्ड सोसाइटीमा
कार्यरत छन् । उनकी पार्टनर पनि एउटा संस्थामा जागिरे छन् ।
सम्झना (उनकै आग्रहमा नाम परिवर्तन) र
सुदीप (नाम परिवर्तन) ले जोडी बाँधेको दुई वर्ष भयो । दुवैजना हेटौंडाबाट
आएर काठमाण्डौमा बसिरहेका छन् । ‘हामी पनि मज्जाले मनाउने हो भ्यालेन्टाइन
डे’ सम्झनाले भनिन् । सुदीपले पनि प्रेमिकालाई दिने उपहार पनि सोचिसकेका
छन् रे । ‘अहिले नै भन्दा पनि दिने बेलामा मजा आउँदैन क्या’ सुदीपको कुरा
सुनेर सम्झना मुस्कुराइन् ।
त्यस्तै कैलालीका भक्ति शाहले सात
वर्षदेखि नै एकजना पार्टनर फेला पारेका छन् । तर, उनको जोडीले यो वर्ष सँगै
भ्यालेन्टाइन मनाउन नपाउने भएको छ । ‘त्यही दिन बैंकक जानुछ’ ब्लु डाइमण्ड
सोसाइटीका कर्मचारी उनले भने ‘परिवन्द नै यस्तै पर्यो ।’ तर आफूहरुको
पिरती सँधै लैला-मजनू भएको दाबी गर्ने उनले भने ‘यसलाई एक दिनको
भ्यालेन्टाइनमा सीमित पार्नु हुँदैन भन्ने मेरो मान्यता छ ।’
सहकर्मी यौनिक अल्पसंख्यकमाझ ‘ममी’ र
‘दिदी’ पहिचान बनाएकी पिंकी भने आफूलाई भ्यालेन्टाइनले अर्थ नराख्ने
टिप्पणी गर्छिन् । ‘मेरो कोही भ्यालेन्टाइन छैनन्’ उनले भनिन् ‘भए पो
मनाउने कुरा सुनाउनू ।’
त्यसो त माया भन्ने चिजलाई एक दिनको
भ्यालेन्टाइनमा सीमित पार्न नहुने उनको विश्लेषण छ । ‘मायासँग भावना
गाँसिएको हुन्छ’ उनले भनिन् ‘एक दिनमा सीमित पार्दा मायाको महत्व कम हुन्छ र
समाजमा गलत म्यासेज जान्छ ।’ उनी भ्यालेन्टाइन डेमा गर्लफ्रेण्ड र
ब्वाइफ्रेण्ड बनाउने, रमाइलो गर्ने क्रमले फेसनको रुप धारण गरिरहेको
भन्द्यै चिन्ता व्यक्त गर्छिन् ।
प्रतिवन्धित लैला-मजनू
नेपाली समाजमा अझै स्वीकारिएको छैन यौनिक
अल्पसंख्यकलाई । कूल जनसंख्यामा ८ देखि १० प्रतिशत यौनिक अल्पसंख्यक रहेको
दाबी गर्ने पिंकी भन्छिन् ‘हामीलाई अझै समाजले मान्यता दिएको छैन, विभिन्न
हेय शब्दले बोलाइन्छ ।’ नेपालमा अहिले चलनचल्तीमा तेस्रो लिंगी भन्ने
गरिन्छ ।
पहिचानबारे अधिकारीको भोगाइ पनि तीतो छ ।
उनी आफूहरु यही समाजको सदस्य भए पनि परिवारबाट समेत वहिष्कृत हुने गरेको
बताउँछन् । ‘लुकिछिपी माया लाउनुपर्ने बाध्यता छ हाम्रो’ उनले भने ‘परिवार र
समाज दुबैतिरबाट हेपिएपछि कम्ता चोट परेको छैन ।’
ब्लु डाइमण्ड सोसाइटीले अहिलेसम्म
आफूहरुको सम्पर्कमा ५ लाख जनाले आवद्धता जनाइसकेको उल्लेख गरेको छ । तर,
सामाजिक असुरक्षाले गर्दा धेरैजनाले पहिचान खोल्न नसकेको पिंकी बताउँछिन् ।
नेपाली सेनामा भेदभाव भएको गुनासो
भक्ति शाह आफूहरुलाई राज्यले समेत हेला
गरेको गुनासो गर्छन् । उनी राज्यकै हेयभावले सरकारी रोजगारी गुमाउन बाध्य
भएको बताउँछन् । उनी नेपाली सेनामा भर्ती भएका थिए, तर आफूलाई समलिंगी
भएकोमा जागिरबाट निकालिएको बताउँछन् उनी ।
‘सेनामै छँदा केटासँग निकटता गाँसेको
अभियोगमा थुने’ उनले भने, ‘बाध्य भएर सेना जागिर छाडेँ ।’ उनी अहिले यौनिक
अल्पसंख्यकहरुको अधिकार क्षेत्रमा कार्यरत छन् ।
‘फिलिङमात्र फरक हो’
यौनिक अल्पसंख्यकभित्र पाँच वर्ग छन् ।
विभिन्न लैंगिक विशेषताको आधारमा महिला, पुरुष र दुवै गुण भएको गरी पाँच
वर्गमा यौनिक अल्पसंख्यक छन् । ‘हाम्रो शारीरिक आकृति खासै फरक हुँदैन’
भक्ति भन्छन् ‘हाम्रो फिलिङ मात्रै फरक हुन्छ ।’
पिंकीका अनुसार यौनिक अल्पसंख्यकहरुको
आचरणमा हर्मोनमात्र जिम्मेवार छैन । प्राकृतिकरुपमा पनि कतिपय मानिसमा
यौनिक विशेषता फरक पर्ने गरेको छ । ‘यो आदिकालदेखि नै चलिआएको रीति हो’
विश्वराज भन्छन् ‘तर आधुनिक शिक्षित समाजले अहिलेसम्म स्वीकारेको छैन ।’
परिवारबाटै प्रेममा वञ्चित
सुदीप हेटौंडाका बासिन्दा हुन् । उनी
अहिले आफूलाई महिला समलिंगी भन्न रुचाउँछन् । उनले आफ्नो लैंगिक पहिचानका
बारेमा बताएपछि परिवारले नै हेला गरे । समाजले त गर्ने नै भयो । चौतर्फी
हेला भएपछि उनी काठमाण्डौ आइपुगे । ‘अहिले पनि परिवारमा राम्रो सम्बन्ध
छैन’ उनले भने ‘एउटी दिदी हुनुहुन्छ अपाङ, उहाँले मात्र फोन गर्नुहुन्छ ।’
उनकी प्रेमिका सम्झनाले त घरमा अहिलेसम्म
थाहा नदिएको बताइन् । घरमा जानकारी नदिएकाले आफूलाई परिवारको ‘सपोर्ट’
रहेको उनको भनाइ छ । हेटौंडाबाट १२ पास गरेकी उनी अहिले काठमाण्डौमा
कार्यरत छिन् ।
|
0 comments
Write Down Your Responses