जोगीहरु बल्खुमा पुगेर भने-माधव नेपाल जिन्दावाद !

१२ फागुन, काठमाडौं । एमाले मुख्यालय बल्खुमा आइतबार केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि जोगीहरुले नारा लगाइरहेका थिए -नेकपा एमाले जिन्दावाद ! माधव नेपाल जिन्दावाद ! जोगीहरुको दर्शन र कम्युनिस्ट पार्टी निकै ठूलो विरोधाभाष हो । तर, जोगीहरु एमाले जिन्दावाद भनिरहेका थिए । उनीहरुको नाराबाजी सुनेपछि बल्खु परिसरमा जम्मा भएका एमाले कार्यकर्ता भन्दै थिए, ‘जोगीहरु पनि व्यावसायिक भएछन् ।’
बैठकमा सहभागी हुन पार्टी मुख्यालय जाँदै थिए-एमाले बरिष्ठ नेता माधवकुमार नेपाल । शिवरात्री नजिकै आइरहेका बेला पशुपतिमा जानुपर्ने जोगीहरुको समूह पार्टी कार्यालयमा आएर नाराबाजी गरेको देखेर उनी अलमलमा परे । जोगीहरुको नाराबाजी हेर्दै पार्टी केन्द्रीय कार्यालयभित्रै पसे । तर, जोगीले थाहा पाएनन् ।
बैठक सुरु हुनुअघि नै जोगीहरु कार्यालय परिसर पुगेका थिए । बैठकका लागि नेताहरु धमाधम पार्टी कार्यालयमा प्रवेश गरिरहेका थिए । नेताहरु कार्यालयमा पुग्दा करिब ३६ जनाभन्दा बढी जोगीले आफूहरु शिवरात्रिका लागि राजधानी आएको र आफ्ना साथीहरुमध्ये तीनजनालाई बिहीबार प्रहरीले पक्रेको गुनासो गर्दै छुटाउन बरिष्ठ नेता नेपाल भेट्न आएको बताएका थिए ।
नेपाल भित्र पसेपछि जोगीहरुको माग बुझ्न तराई मूलका दुई कार्यकर्ता कार्यालयभित्रबाट बाहिर आए । तर, जोगीहरुले मानेनन् । उनीहरुले आफूहरु माधवकुमार नेपालको मतदाता भएकाले नेपाललाई नै भेट्नुपर्ने बताए । उनीहरु पार्टी कार्यालयको क्यान्टिननजिकैको चौरमा बसिरहेका थिए । माथि बैठकस्थलमा खबर पुगेपछि बरिष्ठ नेता नेपाल उनीहरुलाई भेट्न तल झरे ।
नेपालले तल झरेर जोगीहरुको गुनासो सुने । नेपाल पनि उनीहरु बसेको चौरमै पुगेर गुनासो सुनिरहेका बेला जोगीहरु भनिरहेको थिए ‘तपाईलाई हामीले भोट हालेर जितायौं, पुलिसले पक्रेका हाम्रा साथीहरुलाई तपाईले छुटाइदिनुपर्‍यो ।’
नेपालले उनीहरुलाई कहाँ थुनिएको छ भनेर सोधेका थिए । जोगीहरुले बौद्ध प्रहरीले थुनेको बताए । नेपालले आफूले साथीहरुलाई छुटाउन पहल गर्ने आश्वसन दिएर बैठकतिर लागे । शिवरात्रिका लागि पशुपतिमा आउने क्रममा तीन जोगीलाई प्रहरीले पक्रेको थियो । गाँजासहित पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली जोगी छन् ।
उनीहरुको साथबाट तीन केजी गाँजा बरामद भएको र यो मात्रा धेरै भएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका जोगीहरुले शिवरात्रिका लागि आफूहरुले सो गाँजा बोकेको बताएका छन् । तर, ठूलो मात्रामा गाँजा भेटिएकाले उनीहरुलाई लागुऔषध मुद्दामा कारबाही गर्ने प्रहरीको तयारी रहेको नयाँ पत्रिकामा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.