नेपाली विद्यार्थी प्रार्थना गर्छन् ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा‘’

काठमाण्डौं, ११ फागुन । शिक्षाको मनोविज्ञानले भन्छ, ‘बालबलिका भनेका काँचो माटो र कलिला मुना हुन् । जता फर्कायो उतै फर्किन्छन् । जुन आकारको बनायो त्यही बन्छन् ।’ तर, नेपाली बालबालिकालाई भारतीय गीत सिकाएपछि कस्तो आकारका बन्लान् उनीहरू रु नेपाल–भारत सिमावर्ती क्षेत्रमा पर्ने मोरङका नोचा र अमाही बरियाती गाविसका बालबालिका विद्यालयमा ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ भनेर गाउने ठाउँमा ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ भनेर गीत गाउँछन् ।
दशगजा क्षेत्रमा खुलेको भारतीय निजी बोर्डिङ स्कुलमा गएर उनीहरू हरेक दिन भारतीय गीतमा प्रार्थना गर्ने गरेका हुन् । नेपाली बालबालिका हरेक दिन बिहान भारतीय पाठयक्रमले भरिएको गह्रौ झोला बोकेर नजिकै रहेको भारतीय स्कुल जान्छन् । सस्तो शुल्कका कारण सो क्षेत्रका विद्यार्थी भारतीय क्षेत्रको महात्मा गान्धी बोर्डिङ स्कुलमा पढ्छन् ।
सो विद्यालयले मासिक चार सय रुपैयाँमा पढाउने गरेको छ । सो विद्यालय नेपाली बालबालिकालाई नै लक्षित गरेर गत वर्षदेखि सञ्चालनमा ल्याइएको हो । त्यहाँ करिब सय नेपाली बालबालिका पढ्ने गरेको स्थानीय महेन्द्र साहले बताए ।
उनले भने, ‘बिहान छोराछोरी भारतीय स्कुलमा गएर पढ्छन्, अनि साँझ नेपाल फर्कन्छन्, सस्तोमा राम्रो पढाइ हुने गरेपछि उता पठाउन थालिएको हो ।’ नेपालतर्फ पनि सरकारी र निजी दुवै विद्यालय छन् ।
भारत बिहार राज्यको अररिया जिल्लाको मधुवनी गाउँमा महात्मा गान्धी बोर्डिङ स्कुलबाट नेपाली बालबालिकालाई लिन भारतीय नम्बरको गाडी प्रत्येक दिन घरघर पुग्छ । सो स्कुलले विद्यार्थी बोक्न चार चक्के ‘म्याजिक टेम्पो’ पनि प्रयोग गर्दै आएको छ भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.